
कैलाली बहुमुखी क्याम्पस (KMC) मा जारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको १,१५४ मत गणना सकिँदा नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवारहरू प्रमुख पदहरूमा अग्रस्थानमा छन्।

अध्यक्ष पदतर्फ नेविसंघका सन्तोष पन्तले ४८५ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन्। उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका पवन सुनारले २९१, अनेरास्ववियुका यमराज जोशीले २४७, विद्यार्थी एकता समूहकी अम्बिका चौधरीले ५५ र अनेरास्ववियूका सुनिलराज जोशीले ३४ मत प्राप्त गरेका छन्।
सचिव पदमा पनि नेविसंघका ओम प्रकाश वस्ती ४०० मतसहित अघि छन्। अनेरास्ववियुका किरण प्रकाश उपाध्यायले २७३, अखिल क्रान्तिकारीका लोकेन्द्र चौधरीले २६१, अनेरास्ववियूका खगेन्द्र अवस्थीले ५९, प्राज्ञिक विद्यार्थी परिषद्का लवदेव धामीले ४१ र स्वतन्त्र उम्मेदवार किशोर जोशीले ३६ मत पाएका छन्।


कोषाध्यक्ष पदमा भने प्रतिस्पर्धा चर्किएको देखिन्छ। नेविसंघकी प्रमिला शाहले ३४४ मतसहित अग्रता बनाएकी छन्, भने अखिल क्रान्तिकारीका धर्मराज तिमिल्सिनाले ३३४ मतसहित नजिकैबाट पछ्याइरहेका छन्। अनेरास्ववियुका प्रकाश भट्टले २७२, अनेरास्ववियूकी अंगीता चौधरीले १०२ र विद्यार्थी एकता समूहका खेमराज भट्टराईले २१ मत प्राप्त गरेका छन्।
निर्वाचन परिणामको अन्तिम निष्कर्ष आउन बाँकी रहे पनि हालसम्मको मतगणनाले नेविसंघको मजबुत उपस्थिति संकेत गरेको छ।






























