हराउँदै गएको कला बचाउँदै रघु कुँवर : अटोबाट गुन्जिने बासुरी

Image
Nisarga Hospital

प्रेम बिष्ट/ अत्तरियाः कुनै समय थियो, जब सुदूरपश्चिमका पहाडी जिल्लाहरूका वनपाखामा गाईभैँसी र बाख्रा चराउन जाने ग्वालाहरू सुरिलो स्वरमा बासुरी बजाउँथे। बासुरीको त्यो मीठो धुनसँगै जंगलमा कुहुकुहु गर्ने कोइलीको स्वर मिसिँदा त्यहाँको वातावरण नै आनन्दमय बन्थ्यो। झरना, हरियाली र वन्य सौन्दर्यले भरिएको त्यो समयको सन्दर्भ अहिले पनि धेरैका स्मरणमा तरंगित भएर आउने गर्छ।

CP Hospital Dhangadhi

यस्तै विगतका स्मरणहरूलाई वर्तमानमा जीवित राख्दै आएका छन् कैलालीको गोदावरी नगरपालिका वडा नं.२, तेघरीका रघु बहादुर कुँवर। पेशाले अटो चालक भए पनि उहाँ बासुरीका पारखी हुन्। सानै उमेरदेखि बासुरी बजाउन सुरु गर्दै आएका कुँवर अहिले ५० वर्षको उमेरमा पनि बासुरीको मोहबाट टाढा हुन सकेका छैनन्।

२०५९ सालमा बैतडीबाट बसाइँ सरेर कैलाली आएका कुँवर अहिले अत्तरिया क्षेत्रमा अटो चलाउँदै जीवन निर्वाह गरिरहनु भएको छ। अटो चलाउने पेशा उहाँको मुख्य आयस्रोत भए पनि समय मिलेमा यात्रुहरूलाई बासुरीको मीठो धुनमा पुराना नेपाली गीतहरू बजाएर मन जित्ने काम उहाँ नियमित रूपमा गर्नुहुन्छ।

nawajiwan

उहाँको अटोमा बस्ने यात्रुहरूका लागि त्यो यात्रा केवल गन्तव्य पुग्ने यात्रा मात्र हुँदैन, त्यो सांगीतिक अनुभव पनि हुन्छ, जहाँ बासुरीको धुनले विगतका दिनहरू सम्झाउने गर्छ। विशेषत,गाउँघरका पुराना भाकाहरू, लोकधुन, र प्रेमभरा गीतहरू उहाँको बासुरीबाट झल्कन्छन्, जुन यात्रुहरूको मन छुन्छ।

Attariya Hospital

बासुरीप्रेमी कुँवरको कथा केवल व्यक्तिगत मात्र होइन, यो सांगीतिक संस्कृतिको प्रतिनिधि कथा पनि हो। बाँसको डन्डीबाट बनेको बासुरीबाट उब्जने सुरिलो धुन आजकलका डिजिटल संगीतको भीडमा हराउँदै गएको छ। तर कुँवरजस्ता कलाकारहरूको लगावले यो संस्कृति अझै केही हदसम्म जीवित छ।

उहाँको यो कला संरक्षणको दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ। नयाँ पुस्ता डिजिटल माध्यममा रमाइरहँदा यस्ता मौलिक कलाहरू बिर्सिँदै गएका छन्। बासुरीजस्ता परम्परागत वाद्ययन्त्रहरूको संरक्षण र नयाँ पुस्तामा यसको आकर्षण पुनःस्थापना गर्न कुँवरको प्रयास प्रेरणादायी हुनसक्छ।

रघु कुँवरले अटो चालकको पेशासँगै एक सांगीतिक यात्रा पनि अगाडि बढाएका छन्, जहाँ बासुरीको धुनले विगतको सांस्कृतिक सम्पदा वर्तमानमा बाँधेर राखेको छ। उहाँजस्ता कलाकारहरूको पहिचान सम्मानसँगै यस्ता कलाहरूको संरक्षण गर्नु आजको आवश्यकता हो। यसले न केवल कलाको संरक्षण गर्छ, तर संस्कृतिको जगेर्ना पनि गर्छ।