
भीमदत्त राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिका–३ सल्लेरीमा बस र ईभी (हाइस) गाडी आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०२००१ ख १२५२ नम्बरको बस र डडेल्धुराको जोगबुढाबाट धनगढी आउँदै गरेको सुपप्र ०२००१ ज ५०७ नम्बरको ईभी सल्लेरीमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा ईभी चालक २६ वर्षीय कमल धामी, डडेल्धुराको पर्शुराम नगरपालिका–१२ की ९ वर्षीया प्रतिक्षा सिजामगर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की २० वर्षीया निर्मला भट्ट सामान्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको छ।

दुर्घटनापछि बस र ईभी दुवैमा क्षति पुगेको छ। घटनास्थलमा ट्राफिक प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।





























