
अत्तरियाः ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अत्तरियामा स्थानीय पत्रकारहरूले अत्तरिया अस्पताल र पदमा अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेका छन्।

फलफूल वितरण कार्यक्रममा प्रेस चौतारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज दिल बहादुर छत्यालले यस्तो सामाजिक कार्यमा संलग्न भएकामा धन्यवाद ज्ञापन गर्दै वर्तमान समयमा पत्रकारहरू विभिन्न चुनौतीको सामना गरिरहेको बताए। उनले भने, “लोकतन्त्र र गणतन्त्र स्थापनामा पत्रकारले योगदान गरे पनि अहिलेको लोकतान्त्रिक परिवेशमै पत्रकारहरू असुरक्षित छन्, जुन अवस्था अन्त्य हुन आवश्यक छ।”
उनले थपे, “नेपालका श्रमजीवी पत्रकारहरूले अहिले पनि भौतिक, पेसागत, आर्थिक र मानसिक चुनौतीको सामना गर्नु परिरहेको छ। लेखेका कारण धम्की, आक्रमण र कार्यक्षेत्रमा ज्यान गुमाउनु पर्ने अवस्था अझै कायम छ, जुन दुःखद र चिन्ताजनक छ।”

प्रेस युनियनका केन्द्रीय सदस्य पुष्पराज जोशीले पत्रकारितामा देखा परेका चुनौतीहरू चिर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए।

पदमा अस्पतालका डा. नरबहादुर मौनीले हरेक परिस्थितिमा पत्रकारहरूले सत्य र तथ्यका पक्षमा कलम चलाउँदै आएको उल्लेख गर्दै, दिवसको अवसरमा अस्पतालमा बिरामीहरूलाई फलफूल वितरण गरिएकोमा धन्यवाद व्यक्त गरे।
‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बौद्धिकताको प्रभाव’ भन्ने नाराका साथ देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ।
वर्ष १९९१ मा जारी ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’को सम्झनामा प्रत्येक वर्ष मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै आएको छ।
































