
अत्तरिया: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि गठित संघर्ष समितिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई ज्ञापन पत्र बुझाएको छ।

बिहीबार समितिले कैलालीका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउँदै, जेठ ४ गते प्रतिनिधिसभाबाट विश्वविद्यालय सम्बन्धी विधेयक पारित भएकोमा धन्यवाद समेत ज्ञापन गरेको हो।
ज्ञापन पत्रमा जनभावनाको सम्मान गर्दै विधेयक पारित गरिदिएकोमा सम्बन्धित नेताहरूप्रति आभार व्यक्त गरिएको छ। साथै विश्वविद्यालयलाई रोजगारी, व्यापार, पर्यटन, आर्थिक तथा सामाजिक रूपान्तरणको आधारस्तम्भका रूपमा चित्रित गर्दै, त्यसका लागि आवश्यक बजेट, जनशक्ति र उपकरण तत्काल व्यवस्था गर्न माग गरिएको छ।

समितिका संयोजक लोकराज पाण्डेय (आगो), सचिव धर्मसिंह कुँवर, तथा सह–संयोजक आनन्द प्रसाद भट्टले हस्ताक्षर गरेको उक्त ज्ञापन पत्रमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा विश्वविद्यालय र शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक रकम विनियोजन गर्न आग्रह गरिएको छ।

यस्तै, विश्वविद्यालय सञ्चालनका लागि ऐनमा व्यवस्था गरिएका पदाधिकारीहरूको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन र चिकित्सा शिक्षा (एमबिबिएस) का लागि सिट संख्या निर्धारण प्रक्रियासमेत आगामी आर्थिक वर्षभित्र प्रारम्भ गर्नुपर्ने माग गरिएको छ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बजेट निर्माणको समय नजिकिएकाले आजै प्रधानमन्त्रीको कार्यालयमा उक्त पत्र पठाउने प्रतिबद्धता जनाए। उनले विधेयक पारित भइसकेकाले अब बजेट व्यवस्थापनमा पनि सहजता आउने विश्वास व्यक्त गरे।


















