एकै झिल्कोले झोस्न सक्छ जीवन ! बर्षातको समयमा चट्याङ किन आउने गर्छ ? चट्याङबाट कसरी जोगिने ?

Image
Nisarga Hospital

बर्खायाम सुरु भएसँगै देशमा प्राकृतिक विपत्तिको जोखिम फेरि बढ्न थालेको छ। प्रत्येक वर्ष नेपालमा करिब ५४० वटा प्राकृतिक प्रकोपका घटना देखिन्छन्, जसमध्ये चट्याङ एक प्रमुख र घातक कारकको रूपमा रहँदै आएको छ। पछिल्ला तथ्याङ्कहरू अनुसार, यस्ता घटनामा मात्रै १५ प्रतिशत भाग चट्याङले ओगट्ने गरेको छ।

CP Hospital Dhangadhi

मानव र चौपायामाथिको विनाशकारी असर

२०७५ सालमा मात्र चट्याङका कारण ६३ जनाको ज्यान गएको थियो भने ३५६ जना घाइते भएका थिए। चौपायामा समेत ठूलो क्षति पुगेको देखिन्छ—१६४ वटा चौपाया चट्याङका कारण मरेका छन् र ५८ वटा घरमा आगलागीसमेत भएको छ।

nawajiwan

अचानक चट्याङ र बदलिँदो मौसम

अहिले देशभर चट्याङसहितको वर्षा बढ्दो क्रममा छ। असार–साउनको जस्तो छिनछिनमा मौसम परिवर्तन हुँदै ठूलो आवाजसहित चट्याङ पर्दा जनमानसमा त्रास फैलिएको छ। घर नै थर्किने गरी चट्याङ पर्दा मानिसहरू स्तब्ध बन्ने गरेका छन्।

विज्ञहरू भन्छन्, चट्याङ केवल प्रकृतिक घटना मात्र होइन, यसको ध्वनी र तापद्वारा पनि ठुलो क्षति हुन सक्छ। यो उच्च ‘इलेक्ट्रिक डिस्चार्ज’ (विद्युत स्फोट) हो, जुन बादलभित्रको सकारात्मक र नकारात्मक चार्ज जुध्दा उत्पन्न हुन्छ।

धेरै ताप, धेरै क्षति

प्राध्यापक रामचन्द्र अधिकारीका अनुसार एकपटक चट्याङ पर्दा १२ करोड ५० लाख भोल्टसम्मको करेन्ट उत्पन्न हुन्छ। त्यो करेन्टबाट करिब ३० हजार डिग्री सेन्टिग्रेड ताप उत्पन्न हुन्छ, जुन सूर्यको सतहको तापक्रमभन्दा पनि उच्च हुन्छ। यदि यस्तो ऊर्जा जमिनसम्म आइपुग्यो भने, ठूलो भौतिक तथा मानवीय क्षति हुनु स्वाभाविक हो।

विशेषगरी ‘कुमोलो निम्बस’ नामक बादलबाट उत्पन्न हुने चट्याङ जमिनसम्म आउने सम्भावना हुन्छ, जसले गर्दा घर, रूख, संरचना, मान्छे, चौपाया सबैलाई क्षति पुर्याउन सक्छ।

Attariya Hospital

खुला ठाउँ र रूखको छायाँ सर्वाधिक जोखिम

चट्याङबाट ज्यान गुमाउने धेरैजसो घटनाहरू खुला मैदानमा गाईभैंसी चराइरहेका, खेतबारीमा काम गरिरहेका वा बाटोमा हिँडिरहेका अवस्थामा हुने गरेको पाइन्छ। अग्ला रूखहरू, टावरहरू, खुला ठाउँहरू चट्याङको मुख्य लक्ष बन्ने भएकाले त्यस्ता स्थानमा नबस्न विज्ञहरूको चेतावनी छ।

‘अर्थिङ’ र सावधानी: जीवनरक्षा गर्ने उपायहरू

चट्याङबाट बच्न सावधानी नै मुख्य उपाय हो। घरमा उचित ‘अर्थिङ’ (विद्युत् बहावलाई जमिनतर्फ लैजाने प्रविधि) आवश्यक छ। यदि घरमा अर्थिङ राम्रो छैन भने बिजुली चम्किँदा निस्केको करेन्ट घरको सर्किटमार्फत विस्फोटक रूपमा पस्न सक्छ।

प्राध्यापक अधिकारी सुझाव दिन्छन्:

  • चट्याङको समयमा घरबाहिर ननिस्कनु

  • इलेक्ट्रोनिक उपकरणहरू बन्द राख्नु

  • अग्ला रूख वा खुला मैदानको छेउमा नबस्नु

  • सर्किट लिक भए–नभएको नियमित जाँच गर्नु

ध्यान दिनुपर्ने कुरा के हो भने, चट्याङले आवाजभन्दा अघि नै आक्रमण गरिसकेको हुन्छ। त्यसैले ‘आवाजले होइन, बिजुली चम्किन थालेपछि डराउनु हो’, अधिकारी भन्छन्।

जलवायु परिवर्तनले बढाएको जोखिम

नेपालमा चट्याङ बढी चैत, वैशाख र जेठ महिनामा सक्रिय देखिन्छ। तर, जलवायु परिवर्तनका कारण यस्ता मौसमी प्रणालीहरू अब जुनसुकै बेला पनि देखा पर्न थालेका छन्। जलवायु परिवर्तनअनुसार चट्याङको समय, स्वरूप र प्रभावमा पनि परिवर्तन आउन थालेको छ।

Advertize US