
काठमाडौँको नारायणहिटी दरबार संग्रहालय क्षेत्र वरपर निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार पाँच जनाभन्दा बढी भेला भएर अनशन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा गर्न रोक लगाउने आदेश जारी गरेका हुन्।

प्रशासनको आदेशअनुसार जेठ १७ गतेदेखि असार २४ गतेसम्म केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै पुनः संग्रहालयको दक्षिण गेटसम्मको क्षेत्रमा विरोधका कार्यक्रम निषेध गरिएको छ।
बिहीबारदेखि राजसंस्थाका पक्षमा सुरु भएको आन्दोलनलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको हो। राजावादी समूहले बिहीबार शान्तिबाटिका र शनिबार माइतीघरमा प्रदर्शन गरेका थिए। उनीहरूले नारायणहिटी क्षेत्रमै पनि प्रदर्शनको तयारी गरेका थिए।


राजसंस्था पुनःस्थापनाको माग गर्दै आन्दोलनरत राजावादीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।































