
इन्डियन प्रिमियर लिग (आईपीएल)मा १८ वर्षपछि पहिलो पटक उपाधि जितेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)को विजय उत्सव शोकमा परिणत भएको छ।

च्याम्पियन बनेपछि बैंगलोरस्थित चिन्नास्वामी स्टेडियम बाहिर हजारौं समर्थकहरू उत्सव मनाउन जम्मा भएका थिए। तर, भिड अत्यधिक भएपछि स्थिति नियन्त्रण बाहिर गयो र अराजकता मच्चियो।

उत्सवको दौरान अनियन्त्रित भीडका कारण भागदौड मच्चिँदा ७ जनाको ज्यान गएको र २५ जनाभन्दा बढी घाइते भएको समाचार एजेन्सी रोयटर्सले टिभी च्यानलहरूलाई उद्धृत गर्दै जनाएको छ। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर छ।

आरसीबीले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनल खेलमा पञ्जाब किंग्सलाई ६ रनले पराजित गर्दै पहिलो पटक आईपीएलको उपाधि जितेको हो। रजत पाटीदारको कप्तानीमा आरसीबीले इतिहास रचेको छ।




















