
कैलालीले लगातार चौथो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै नयाँ इतिहास रचेको छ।

सुदूरपश्चिम प्रदेशस्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली जिल्ला ३५ स्वर्ण, १२ रजत र १० कास्य पदकसहित प्रथम भएको हो। प्रतियोगिता धनगढी रंगशालामा सम्पन्न भएको थियो। पहिलो स्थानसँगै कैलालीले ट्रफी, मेडल र नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
कैलाली जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख आश्रम केसीका अनुसार, कैलालीले १२औं, १३औं, १४औं र १५औं संस्करणमा लगातार उपाधि जित्दै सिल्ड स्थायी रुपमा आफ्नो बनाइसकेको छ। “३ पटक निरन्तर उपाधि जितेपछि नयाँ सिल्ड निर्माणको प्रावधानअनुसार यस वर्षको उपाधि जितेर अर्को सिल्ड लिन सफल भएका छौँ,” केसीले भने।

प्रतियोगितामा कञ्चनपुर १७ स्वर्ण, १२ रजत र ११ कास्य पदकसहित दोश्रो स्थानमा रह्यो। कञ्चनपुरले ट्रफी, मेडल र नगद १५ हजार पुरस्कार प्राप्त गर्यो।

तेस्रो स्थान बझाङले ७ स्वर्ण, ४ रजत र ११ कास्य पदकसहित हासिल गर्यो। बझाङलाई नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिएको छ।
यस्तै, चौथो स्थान बैतडीले ३ स्वर्ण, ६ रजत र ७ कास्य पदक जितेर सम्मानित भयो।
समापन समारोहमा सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले विजेता टोलीहरूलाई पुरस्कार प्रदान गरेका थिए।





























