
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले नेदरल्याण्ड्सविरुद्ध लगातार दोस्रो जित निकालेको छ। स्कटल्यान्डको डन्डीस्थित फोर्टहिल मैदानमा बुधबार सम्पन्न खेलमा नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गर्दै प्रतियोगितामा तेस्रो जित दर्ता गर्यो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रनको चुनौती पेश गरेको थियो। तर, स्लो ओभररेटका कारण १० रनको पेनाल्टी व्यहोर्दै विपक्षी टोलीलाई २२७ रनको लक्ष्य दिइयो।
लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्स ४९.२ ओभरमा २२० रनमै अलआउट भयो। नेपालका बलरहरूले सामूहिक प्रदर्शन गर्दै विपक्षी ब्याटिङ लाइन अपलाई सम्हालिन दिएनन्। नन्दन यादव र सन्दीप लामिछानेले तीन–तीन विकेट हात पार्दा ललित राजवंशीले दुई, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए।

नेदरल्याण्ड्सका वेस्ली बारेसीले सर्वाधिक ३६ रन बनाउँदा कप्तान स्कट एडवार्ड्सले ३० रनको योगदान दिए। क्लेनले २५ र नोहा क्रोसले २२ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

यसअघि, नेपालका लागि आरिफ शेखले ८४ रनको शानदार पारी खेले। उनले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै इनिङ सम्हाले। कप्तान रोहित पौडेल र भीम सार्कीले समान ३५–३५ रन बनाएका थिए।
नेदरल्याण्ड्सका बलरमध्ये पउल भान मिकेरनले चार विकेट लिए भने माइकल लेभिटले तीन विकेट झारे। आर्यन दत्तले एक विकेट हात पारे।
यो जितसँगै नेपालले त्रिकोणात्मक सिरिजमा चार खेलमध्ये तीन खेलमा जित हासिल गरेको छ। यसअघि नेपाल स्कटल्याण्डसँगको प्रतिस्पर्धामा दुई रनले पराजित भएको थियो।
विश्वकप लिग–२ को समग्र अंकतालिकामा नेपाल १६ खेलमा १२ अंक जोड्दै सातौं स्थानमा छ। नेदरल्याण्ड्स भने २३ खेलमा २६ अंकसहित दोस्रो स्थानमा यथावत रहेको छ।




























