
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि “एक जिल्ला, एक खेलमैदान” कार्यक्रमअन्तर्गत १ करोड ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको बजेट वक्तव्यमार्फत प्रदेशका हरेक जिल्लामा खेलकुद पूर्वाधार विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम अघि सारिएको हो।

बजेट अनुसार, प्रत्येक जिल्लामा स्थानीय खेलकुद गतिविधि प्रवर्द्धन गर्न उपयुक्त संरचना निर्माण गरिनेछ। यसबाट युवा वर्गमा खेलकुदप्रति रुचि बढाउने, स्थानीय प्रतिभाको विकास गर्ने र खेलमार्फत सामाजिक एकता कायम राख्ने लक्ष्य लिइएको छ।

प्रदेश सरकारका अनुसार खेलकुद क्षेत्रलाई सशक्त बनाउन आगामी दिनमा अन्य सहुलियत र कार्यक्रम पनि ल्याइनेछ। खेलमैदान निर्माण कार्य प्रदेश युवा तथा खेलकुद मन्त्रालयमार्फत अगाडि बढाइनेछ।





















