
कविता:ए महान मनुष्य
ए महान मनुष्य के का लागि भाग दौडधुप
के का लागी गरिरहेछौ तछाडमछाड
कहिले देखी बनाइरहेछौ आफुले आफैलाई उत्कृष्ट
कहिल्यै देखि गर्दै आएछौ घमण्डको खेती
ठुलो बडा मानेर शिर ठड्याइराख्दा
कहिल्यै झल्किदैन आफु भित्र सडेको सोच
आफुलाई सहि कसरी पुष्टि गर्न सक्छौ
के आधारमा सावित गर्छौ
अन्धविश्वासलाई आङ्गालेर
कुरितीलाई सङ्गालेर
कहिले सम्म बनिरहन्छौ महान
कस्तो बिडम्बना यो
एउटै आकाशमुनिको धर्तीमा उभिएको हामी
मलाई आकाशले थिचिरहेछ अनि धर्तिले मिचिरहेछ
कहिले सम्म अप्सनको अस्तित्व लुकाउ
कहिले सम्म भित्रि अनुहार छुपाउ
लुकाउने छुपाउने मेरो चाहना होइन
तिमी नै बाध्यताको डोरीले मलाई बाधिरहेछौ,
कहिले सम्म बोकौ तिम्रो थुकलाई यो शिरमा
तिमीले मलाई अपवित्र बनायौ
बताइदेउ मेरो अस्तित्व के हो ?
कस्ले बनायो मेरो अस्तित्व?

तिम्रो पैतालाले कुल्चिरहेको मेरो घाँटी
तिम्रो दमनले घेरिएको मेरो जीवन
कहिले सम्म जारी रहन्छ?
तिमी अछुत भन्छौ
अपवित्र भन्छौ
तिमीलाई मेरो प्रश्न
अपवित्र मलाई किन यो पवन आफै चुमेर जान्छ
किन मेरै वरिपरि घुमेर जान्छ
अपवित्र मैले पौडिदा किन सुक्दैन नदी
रविले किन मेरै दिल छेडेर तिमी सम्म पुग्छ
जुनले किन मलाई शितलता प्रदान गर्छ
अपवित्र मलाई किन तिम्रा भन्दा पनि सुन्दर अङ्गहरु प्रदान गर्यो प्रकृतिले,
अपवित्र मेरै श्रम सिपले किन जीवन अगाडि बढाइरहेछौ,
अपवित्र मेरै हातले बनेका वस्त्र किन पहिरिहेछौ !

शिर ठाडो बनाउछौ मेरै सिपले
फेरी किन मलाई थुक्छौ,
मेरो आत्मा र जीवनलाई थुक्ने तिमी
मैले छुदा अपवित्र हुने तिमी बताउ म पवित्र कसरी हुन्छु,
कहिले सम्म लाग्छौ मेरा दमनका निम्ति , अन्त्यष्टिको निम्ति
म न चल्ने तिमीलाई
मेरो रगत चल्छ
मसँग घृणा जाग्ने तिमीलाई मेरो प्रगतिमा मन चल्छ,
तिमीले हजार वर्षदेखि गरेको दमनलाई लत्याउँदै छु,
तिम्रा अत्याचारको जन्जिरलाई तोड्दै छु ,
ए महान मनुष्य तिम्रा दिमागको घैटामा घाम कहिले लाग्छ,
म पनि तिमी जस्तै हाड मासु र रगतको डल्ला हुँ,
तिमी पवित्र म अपवित्र कसरी हुन सक्छ,
बिउँझिन् किन चाहादैनौ ,
किन सधैं अन्धकारमै निदाउन चाहान्छौ
ए महान मनुष्य बुझ्न कोसिस गर

ललिता गजमेर































