
आज विहान करिब ३:१५ बजेतिर आएको भिषण बाढीले रसुवागढीस्थित नेपाल–चीन व्यापारिक नाकामा ठूलो क्षति पुगेको छ। लेन्दे खोलामा आएको बाढीका कारण रसुवागढी हाइड्रोपावर, निर्माणाधीन भन्सार यार्ड, मितेरी पुल लगायत संरचनाहरूमा क्षति पुगेको हो।

चीनतर्फको अध्यागमन कार्यालयअगाडि रहेको मितेरी पुल बगाएपछि नेपाल–चीनको सिधा सडक सम्पर्क विच्छेद भएको छ। पुल विनाको अवस्थामा देखिएको अध्यागमन क्षेत्रले दुबै देशबीचको आवतजावत र व्यापारिक कारोबार प्रभावित बनाएको छ।


बाढीले खोलानजिकै पार्किङमा राखिएका केही ट्रकहरू र भन्सार प्रक्रियाका लागि रोकिएका विद्युतीय गाडीहरू (इभी) समेत बगाएको आशंका गरिएको छ। क्षतिको यकिन विवरण आइसकेको छैन भने मानवीय क्षति भए/नभएको विषयमा अनुसन्धान जारी छ।
स्थानीय बासिन्दा केशव न्यौपानेका अनुसार बाढीबाट अर्बौं रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति भएको अनुमान गरिएको छ। हाल प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धार तथा क्षति मूल्याङ्कन कार्यमा जुटेको जानकारी प्राप्त भएको छ।































