
जल तथा मौसम विज्ञान विभागले रसुवास्थित ल्हेन्दे खोलामा गएको मङ्गलबार बिहान आएको बाढी हिमताल विस्फोटकै कारण भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनका आधारमा उक्त बाढी सुप्राग्लेशियल ताल फुटेपछि आएको बताएको हो।

बाढीविद् विनोद पराजुलीका अनुसार रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करिब ३६ किलोमिटर उत्तरमा, समुद्री सतहदेखि ५१५० मिटर उचाइमा रहेको जलाधार क्षेत्रभित्र ताल फुटेको देखिएको छ। उनका अनुसार बाढीपूर्व तालको क्षेत्रफल करिब ०.७५ वर्ग किलोमिटर रहेकामा बाढीपछि ०.६० वर्ग किलोमिटरमा झरेको छ, जसले पानीको ठूलो निकास भएको संकेत गर्छ।
“हिमताल फुटेपछि त्यसको असर ल्हेन्दे खोलाको तलतिर देखिएको छ,” पराजुलीले भने, “बाढीपूर्व र बाढीपछिको तस्बिर तुलना गर्दा स्पष्ट भिन्नता देखिन्छ।”


अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरूले पनि चीन–नेपाल सीमास्थित सुप्राग्लेशियल ताल फुटेर भोटेकोशी नदीमा बाढी आएको पुष्टि गरेका छन्।
विभागले चीनबाट थप स्थलगत प्रतिवेदनको अपेक्षा राखेको छ भने भू–उपग्रहबाट आउने आगामी तस्बिरहरूले थप जानकारी दिने विभागको भनाइ छ। विभागले घटनाबारे अध्ययन र निगरानीलाई निरन्तरता दिने जनाएको छ।
































