
नेदरल्याण्ड्स र इटालीले सन् २०२६ मा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी–२० विश्वकपका लागि छनोट भएका छन्। युरोप क्षेत्रीय छनोट पार गर्दै नेदरल्याण्ड्स पाँचौं पटक र इटाली पहिलो पटक विश्वकपमा स्थान सुरक्षित गर्न सफल भए।

शुक्रबार भएको अन्तिम खेलमा नेदरल्याण्ड्सले इटालीलाई ९ विकेटले हराए पनि रनरेटको आधारमा इटाली दोस्रो स्थानमा रहँदै छनोट हुन सफल भयो।

इटालीले २० ओभरमा १३४ रन बनाएको खेलमा नेदरल्याण्ड्सले १६.२ ओभरमै लक्ष्य पूरा गर्यो। म्याक्स ओ’डाउडले ४७ र कप्तान स्कट एडवार्ड्सले ३७ रन बनाए।

यसैबीच, लगातार टी–२० विश्वकप खेल्दै आएको स्कटल्याण्ड यसपटक भने छनोट हुन सकेन। इटाली र जर्सीसँगको हारले स्कटल्याण्डको अभियान समाप्त भयो।































