
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनका लागि खेलाडी दर्ता प्रक्रिया सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबारदेखि खेलाडी दर्ता खुला गरिएको जनाएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडीले ए, बी र सी गरी तीन वर्गमध्ये आफू अनुकूलको श्रेणी रोजेर दर्ता गर्न सक्नेछन्। दर्ता प्रक्रिया साउन ६ गतेसम्म खुला रहनेछ। त्यसपछि क्यानले दर्ता भएका खेलाडीको सूची प्रकाशित गर्नेछ।
सूचीकृत खेलाडीलाई मिनी अक्सनमार्फत आठवटा फ्रेन्चाइज टोलीले अनुबन्ध गर्नेछन्। अक्सनमा पहिला फ्रेन्चाइज टोलीले रिलिज गरेका खेलाडीहरू र अन्य इच्छुक नेपाली खेलाडीले सहभागी हुन पाउने व्यवस्था गरिएको छ।


क्यानले यस सिजनलाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित दर्ता, वर्गीकरण र अक्सन प्रणाली लागू गरेको जनाएको छ। एनपीएल नेपाली क्रिकेटको प्रमुख फ्रेन्चाइज लिग हो, जसले युवा खेलाडीलाई प्लेटफर्म प्रदान गर्दै आएको छ।

































