
अबदेखि प्रहरीले अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिहरूको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार मातहतका सबै प्रहरी कार्यालयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।


प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार यो निर्णय मानव अधिकारको संरक्षणका दृष्टिकोणले गरिएको हो।
“हामीले मानव अधिकारको ख्याल गर्दै अनुसन्धानकै क्रममा रहेका आरोपितको तस्बिर र भिडियो सार्वजनिक नगर्न निर्णय गरेका हौँ,” डीआईजी घिमिरेले जानकारी दिए।
उनका अनुसार, पक्राउ परेका व्यक्तिहरू पछि निर्दोष प्रमाणित भए पनि पहिले सार्वजनिक गरिएका तस्बिर र भिडियोका कारण दीर्घकालीन सामाजिक असर पर्ने भएकाले यस्तो निर्णय लिइएको हो।
अबदेखि प्रहरीले गम्भीर अपराधमा संलग्न आरोपितहरूको नाम र ठेगाना मात्र सार्वजनिक गर्ने छ भने तस्बिर तथा भिडियो भने सार्वजनिक नगर्नेछ। प्रहरीको यो निर्णय महान्यायाधिवक्ता कार्यालयको निर्देशन अनुसार लागू गरिएको हो।
































