
भारतको नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसामा कुवेत जान लागेका ४७ नेपाली महिलालाई नेपाली अधिकारीहरूले फिर्ता गराएका छन्।


एनओसी (अनिवार्य स्वीकृति पत्र) विना नै कुवेत जान लागेको पाइएपछि दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा ती महिलाहरूलाई नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्याइएको हो।
दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्ल नेतृत्वको टोलीले सुनौली नाका हुँदै ती महिलाहरूलाई नेपाल ल्याएर रुपन्देही प्रशासनको जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए। उनका अनुसार महिलाहरूलाई हाल काठमाडौं ल्याउने प्रक्रिया अघि बढाइएको छ।
यस विषयमा गृहमन्त्री रमेश लेखकले गम्भीर ध्यान दिँदै प्रहरीलाई कडा अनुसन्धान गर्न निर्देशन दिएका छन्। गृह मन्त्रालयका अनुसार गृहमन्त्रीले मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई घटनाबारे छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आदेश दिएका हुन्।
मन्त्री लेखकले वैदेशिक रोजगारीका नाममा हुने अवैध गतिविधिहरूको गहन अनुसन्धान गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिएका छन्।





























