
आज साउन १५ गते, नेपाली समाजमा खीर खाएर मनाइँदैछ। वर्षा ऋतुमा असार १५ मा दही–च्यूरा र साउन १५ मा खीर खाने परम्परा पुरानै हो। दूध, मरमसला र चामल मिसाएर बनाइने खीर स्वास्थ्यका दृष्टिले पनि लाभदायक मानिन्छ।

धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार खीर (पायस) सात्विक आहार हो र पितृ तथा देव कार्यमा यसको महत्त्व छ। साउनमा हरियाली र घाँस प्रशस्त हुने भएकाले गाई–भैँसीले दूध धेरै दिने र त्यसले गर्दा खीर बनाउने चलन बसेको उनको भनाइ छ।
भगवान् शिवलाई दूध मनपर्ने भएकाले पनि साउनमा खीर खाने परम्परा प्रचलनमा आएको हुनसक्ने उनी बताउँछन्।


चामल, मकै, सेवई, सावधाना, गाजर आदि मिसाएर खीर बनाइन्छ। साउनमा हरियो मकै पाउँदा मकैको खीर पनि प्रचलित हुन्छ। नेपाली समाजमा असार १५ मा दही च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा मकै, पुस १५ मा घिउ खट्टे खाएर इष्टमित्र र चेलिबेटीलाई बोलाउने चलन छ।
यस अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर दिवसका रूपमा मनाउँदै आएको छ।




















