दुर्गा प्रसाईं दुईवटा मुद्दामा २५ लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनको आदेश

Image
Nisarga Hospital

उच्च अदालत, पाटनले दुर्गा प्रसाईंलाई दुई फरक मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको छ। राजावादी आन्दोलनसँग सम्बन्धित हिंसात्मक प्रदर्शन र बैंकिङ कसुर सम्बन्धी दुवै मुद्दामा अदालतले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो।

CP Hospital Dhangadhi

बैंकिङ कसुरसम्बन्धी मुद्दामा न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले उनी तत्काल निर्दोष ठहर गर्न नसकिने भए पनि क्यान्सर रोगी भएको अवस्थालाई विचार गर्दै धरौटीमा छाड्ने निर्णय गरेको जनाएको छ।

यससँगै, १५ चैतमा भएको हिंसात्मक प्रदर्शनसम्बन्धी मुद्दामा पनि उच्च अदालतले आजै उनलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। यस आदेशमा न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलास संलग्न थियो। यद्यपि, आदेशको विस्तृत विवरण भने आउन बाँकी छ।

nawajiwan
Attariya Hospital

दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत, काठमाडौंमा राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव जस्ता अभियोगहरूमा मुद्दा दायर गरिएको थियो। जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएपछि उनी डिल्लीबजार कारागारमा थिए। सो आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए।

प्रहरीका अनुसार, झापाको बिर्तामोड नगरपालिका–५ निवासी ५४ वर्षीय प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को संयोजकका रूपमा १५ चैतको प्रदर्शन आयोजना गरेका थिए। प्रहरीको दाबीमा, उनले उच्छृंखल अभिव्यक्ति दिँदै भिडलाई उत्तेजित पारेका, निषेधित क्षेत्र तोड्न उक्साएका र सुरक्षाकर्मीलाई गाडीले किच्ने प्रयास समेत गरेका थिए।

उनी केही समय भारतमा बसेको अवस्थामा पक्राउ परेर काठमाडौं ल्याइएको थियो।