
हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा अहिले नेपालको तराई भू–भागको आसपास सरदर स्थानभन्दा उत्तरतर्फ सक्रिय रहेको महाशाखाले जानकारी दिएको छ।


बुधबार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा अधिकांश स्थानमा बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा अन्य स्थानका थोरै भू–भागमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत पहाडी क्षेत्रमा केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

















