कञ्चनपुरमा सहकारीमार्फत ठगिए किसान: अढाई करोड उठाएर न उपकरण, न पैसा ! किसानले गरे सहकारीमा तालाबन्दी

Image
Oplus_131072
Nisarga Hospital

कञ्चनपुरः “५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराइन्छ” भन्ने प्रलोभन देखाएर कञ्चनपुरको लालझाडी गाउँपालिकाका करिब ३५० भन्दा बढी किसानबाट अढाई करोड रुपैयाँ उठाइएको खुलेको छ। एक वर्ष बितिसक्दा पनि न त पैसा फिर्ता पाइयो, न त कृषि सामग्री नै—असन्तुष्ट किसानहरूले बुधबार दुई सहकारी कार्यालयमा तालाबन्दी गरेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

अनमोल कृषि सहकारी, दोदा साना किसान सहकारी र सुरो नेपाल नामक गैरसरकारी संस्थामार्फत किसानलाई पावर टिलर, मोटर, चारा काट्ने मेसिन लगायतका औजार उपलब्ध गराइने आश्वासन दिइएको थियो।

रकम तिरे तर सामग्री कहिल्यै पाएनन्
अनमोल सहकारीमार्फत ११० किसानबाट ४८ लाख ४६ हजार रुपैयाँ संकलन गरिएको थियो।

दोदा सहकारीमार्फत २५० किसानबाट एक करोड ९३ लाख रुपैयाँ उठाइएको थियो।

किसानहरूले कृषिउपज बेचेर, सहकारी–बैंकबाट ऋण लिएर, आफन्तबाट सापटी लिँदै अग्रिम रकम बुझाएका थिए। तर, एक वर्ष बित्दासमेत कुनै नतिजा नआएपछि बाध्य भएर तालाबन्दी गरिएको किसान अर्जुन चौधरीले बताए।

‘घुमघाममा पैसा उड्यो’ – किसानको आरोप
किसान खडक रानाका अनुसार, उनी स्वयं अनमोल सहकारी पुगेर रकम बुझाएका थिए। तर आधुनिक कृषि अपनाउने सपना अब धोका बनिएको छ। स्थानीयवासीहरूले सुरो नेपालले लाखौँ रकम उठाएर आफ्ना मान्छे विदेश घुमाउन पठाएको आरोप पनि लगाएका छन्।

संकलित रकम सुरो नेपालका स्थानीय एजेन्ट, सहकारी प्रतिनिधि र केही व्यक्तिहरूले दुरुपयोग गरेको किसानहरूको आरोप छ।

ठगी मुद्दामा अनुसन्धान जारी
कञ्चनपुर प्रहरी प्रवक्ता सागर बोहराका अनुसार, यो प्रकरणमा ठगी मुद्दा दर्ता भई अनुसन्धान जारी छ। सुरो नेपालकी अध्यक्ष सुशीला खड्का र सहयोगी सुनिता चौधरी पुर्पक्षका लागि कारागारमा थुनामा छन्।

त्यस्तै, सहकारीका टीकाराम चौधरी र नवराज ओझाविरुद्ध पनि उजुरी परेको छ। यस्तै किसिमको ठगी कैलालीका विभिन्न स्थानहरूमा पनि गरिएको प्रारम्भिक जानकारी प्रहरीसँग आएको छ।

अनुदानको नाममा किसान ठगिने घटनाले स्थानीय तहमा नियमन र निगरानीको आवश्यकता देखिएको छ। सरकारले यस्ता प्रकरणमा छिटो न्याय दिलाउने र किसानको लगानी सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ भन्ने आवाज चुलिएको छ।

Advertize US