
धनगढी–खुटिया सडकखण्डको गोदावरी–८, जोनापुरस्थित सुक्टी खोलामा डबल सेल बक्स कल्भर्ट निर्माण भइरहेको छ। तर वैकल्पिक मार्गको उचित व्यवस्था नहुँदा यात्रुहरूलाई दैनिक रूपमा असुविधा भोग्नुपरेको छ।

निर्माणस्थल वर्षा पर्दा हिलाम्मे हुने र सडकको दुवैतर्फको आवत–जावतमा समस्या सिर्जना हुने गरेको छ। स्थानियवासीका अनुसार कल्भर्ट बन्ने क्रममा यात्रुलाई सजिलो हुने खालको वैकल्पिक बाटो बनाइएको भए असहज अवस्था कम हुने थियो।
गोदावरी–८ निवासी शिव नारायण चौधरी भन्छन्, “अलि टाढाबाट अर्को बाटो छ, तर त्यहाँ पनि खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम उच्च छ। यदि ग्राभेल गरेर सम्याइदिनु भएको भए सबैलाई सहज हुन्थ्यो।”


सडक आयोजनाले सुक्टी खोलामा बक्स कल्भर्ट निर्माणका लागि मूल्य अभिवृद्धि करसहित रु. ३ करोड १५ लाख ५५ हजार ६३७ मा पृथ्वी पशुपति जे.भीसँग ठेक्का सम्झौता गरेको हो। ठेक्का २०८१ पुस ८ गते दिइएको हो र काम सम्पन्न गर्ने म्याद २०८२ पुस २० तोकिएको छ। सोही सडकखण्डको मटियारी खोला र सुक्टी खोलामा एकैपटक काम भइरहेको छ।
आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी दिनेश सिंह रैखोलाका अनुसार असारसम्ममा करिब ७१ प्रतिशत भौतिक प्रगति भएको छ। उनका भनाइमा, वैकल्पिक बाटोमा गरिएको ग्राभेल वर्षातमा बगेर जानुले पनि समस्या थपिएको छ।

















