
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले अहिले नेपालमा मनसुन गतिविधि सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभावले आगामी घडीहरूमा वर्षा अझ बढ्ने देखिएको हो।

हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ भने अन्य पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली देखिएको छ। आज दिउँसो देशभर सामान्य बदली रहने र तराईसहितका केही पहाडी भूभागमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

लुम्बिनी प्रदेशको तराई, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। त्यस्तै, आज राति पनि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ।

महाशाखाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने भएकाले पहिरो, बाढी तथा जलभरावको जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

















