
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले लिपुलेक विवादलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत र चीन भ्रमणमा मुख्य एजेन्डा बनाउन माग गरेको छ।

शनिबार विज्ञप्ति जारी गर्दै प्रदेश इञ्चार्ज तथा माओवादी उपमहासचिव गिरिराजमणि पोखरेलले दार्चुलाको भूभागलाई व्यापार मार्गका लागि प्रयोग गर्ने भारत–चीन सहमतिप्रति कडा आपत्ति जनाए। उनले कूटनीतिक पहल र वार्तामार्फत लिपुलेक फिर्ता ल्याउनुपर्ने आवश्यकता औंल्याए।
भदौ ३ गते चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा लिपुलेक पासमार्फत सीमापार व्यापार गर्ने सहमति भएपछिको परिस्थितिलाई उनले नेपालको सार्वभौमसत्तामाथि गरिएको ठाडो हस्तक्षेपका रूपमा चित्रित गरे।


“प्रधानमन्त्रीको आसन्न भारत र चीन भ्रमणमा यस विषयलाई अवसरको रूपमा लिएर प्राथमिकताका साथ उठाउनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ। यसका लागि सर्वदलीय सहमतिसहित राष्ट्रिय एकतामा आधारित पहल गर्न सरकारलाई आग्रह गरिएको छ।
भारत–चीनबीच सम्बन्ध सुधार हुनु स्वागतयोग्य भए पनि नेपालको स्वाभिमान र सार्वभौमिकता माथि आँच आउने सम्झौता अस्वीकार्य हुने चेतावनी माओवादीले दिएको छ।




















