
अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले बिहीबार साउथ अस्ट्रेलियासँग दुई टी-२० अभ्यास खेल खेल्दैछ। पहिलो खेल बिहान ५:१५ बजे सुरु भइसकेको छ भने दोस्रो खेल बिहान ९:१५ बजेपछि हुनेछ। यसअघि मंगलबार नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग दुई खेल खेलेर दुवैमा विजयी भएको थियो।

पहिलो खेलमा सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिएर टोलीलाई ४१ रनको जित दिलाए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चार–चार विकेट लिएपछि नेपालले ६ विकेटको जित हात पार्यो।

नेपालले आजको दुई खेलपछि शनिबार साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय (ओडिआइ) प्रतिस्पर्धा खेल्नेछ, जसको सुरु बिहान ५:१५ बजे हुनेछ।

यसैबीच, नेपाल ‘ए’ टिम भारत भ्रमणमा छ। गुवाहटीमा आजदेखि आसामविरुद्ध पाँच खेलको टी-२० सिरिज सुरु हुँदैछ। अनिलकुमार शाहको कप्तानीमा रहेको १६ सदस्यीय टोलीले पहिलो खेल बिहान ११ बजे खेल्नेछ भने बाँकी खेलहरू भदौ १३, १४, १५ र १६ गते हुनेछन्।

















