
प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीन भ्रमणमा प्रस्थान गरेका छन्। तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन उनी बिहान ७ बजे प्रस्थान गरेका हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसहित रुसलगायत ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। साथै, उनी भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्।

भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा मन्त्री रघुजी पन्त, पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू रहेका छन्।

प्रधानमन्त्री ओली भदौ १८ गते राति साढे १० बजे स्वदेश फर्कने कार्यक्रम छ।
































