
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोली र गोल्यान ग्रुपका चेयरम्यान पवनकुमार गोल्यानबीच आगामी सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन–२०८२ का सन्दर्भमा विशेष छलफल भएको छ। सम्मेलन मंसिर १ र २ गते काठमाडौँमा आयोजना हुँदैछ।

भेटमा मुख्यमन्त्री शाहले सुदूरपश्चिममा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकारले लगानीकर्तालाई स्वागत गर्न आतुर रहेको बताए। उनका अनुसार निजी क्षेत्रले लगानी गर्दा त्यसको उचित प्रतिफल सुनिश्चित हुने वातावरण प्रदेश सरकारले बनाउनेछ।

गोल्यान ग्रुपका चेयरम्यान गोल्यानले सुदूरपश्चिममा विशेषगरी कृषि र पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको बताउँदै सोअनुसार नीतिगत स्पष्टता आवश्यक भएको धारणा राखे। उनले प्रदेश सरकारले जग्गा उपलब्ध गराए कृषिमा व्यवसायिक लगानी गर्न आफूहरू तयार रहेको बताए।

उनको भनाइमा, स्थानीय युवालाई कृषिमा परिचालन गर्न सके उत्पादन वृद्धिसँगै अर्बौँ रुपैयाँ बराबरको स्रोत उत्पन्न गर्न सकिन्छ। साथै सामुदायिक वनमा जडीबुटी उत्पादन गर्न सकिने भए पनि दुई वर्षे कार्यकालका कारण समितिमा निरन्तरता नहुँदा समस्या हुने प्रष्ट्याए।





























