
सुदूरपश्चिमको मौलिक लोकनृत्य हुडकेली पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ। वीर–विरङ्गनाका गीति कथासहित प्रस्तुत हुने यो नृत्य आजका दिनमा माग नहुँदा ओझेलमा परेको कलाकारहरूको भनाइ छ।


कञ्चनपुर शुक्लाफाँटा–११ का ५० वर्षीय गङ्गाराम दमाई विगत तीन दशकदेखि हुडकेली नृत्यमा सक्रिय छन्। बाजेबाट सिकेको कला आज निरन्तरता दिन चाहेर पनि माग नआएकोमा उनी चिन्तित छन्। “पहिले विवाह, व्रतबन्ध, धार्मिक कार्यक्रममा हुडकेलीको ठूलो माग हुन्थ्यो, अहिले वर्षमा एकपटक पनि बोलाइँदैन,” उनी भन्छन्।
लोकसंस्कृतिका जानकारहरूका अनुसार हुडकेली केवल मनोरञ्जन नभई वीरताको कथा, ऐतिहासिक घटना र सांस्कृतिक परिवेश झल्काउने माध्यम हो। यसमा गायकले हुडका (विशेष डमरु) बजाउँदै गीत भट्याउँछन्, अन्य नर्तकले तलवार–ढालको करतब प्रदर्शन गर्छन्। दमाहा र घुँघरुले ताल दिन्छन् भने विशेष भेषभूषामा सजिएका नर्तकले प्रस्तुतिलाई झनै रोचक बनाउँछन्।
पहिलेदेखि हुडकेली कलाकारलाई चामल, पशु वा जग्गामा अधिकार दिने चलनसमेत थियो। तर आधुनिक जीवनशैली र साउण्ड सिस्टमको मोहसँगै परम्परा हराउँदै गएको छ। जानकारहरूको भनाइमा, हुडकेली दार्चुलादेखि कञ्चनपुर र भारतको कुमाउँ–गढवालसम्म लोकप्रिय थियो।
संस्कृतिविद्हरूले यो नृत्य १८०१ सालभन्दा पहिलेदेखि प्रचलनमा रहेको प्रमाण भेटिएको बताउँछन्। वीर शोभी रावत, काला भण्डारी, रती रावलजस्ता पात्रका गाथा यसमा गाइन्छ।
“पुर्खाले दिएको कला नयाँ पुस्ताले नलिए हुडकेली किताबमै सीमित हुनेछ,” भीम दमाईको भनाइ छ। जानकारहरूका अनुसार संरक्षण पहल नभए सुदूरपश्चिमको गौरवमय यो नृत्य इतिहासमै सीमित हुने खतरा बढेको छ।
राससका केही अंशहरु साभार




















