
सरकारले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अब सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको जानकारी दिएका छन्।

मन्त्री गुरुङका अनुसार सञ्जाल बन्द गर्ने निर्णयप्रति सरकारलाई कुनै पश्चाताप छैन। ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले मात्र खोलिएको हो,’ उनले स्पष्ट पारे।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाउने पृष्ठभूमि साझा गर्दै सामाजिक सञ्जाल एक्स ले नेपालको राष्ट्रिय स्वाभिमान विपरीत जवाफ फर्काएको उल्लेख गरे। ‘डेढ वर्षदेखि हामीले कानुन मानेर दर्ता हुन भनिरहेका थियौं। तर उनीहरूले अस्वीकार गरे। यसलाई राष्ट्रको अपमानको रूपमा लिनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै मन्त्रीहरूले बताए।


तर जेनजीहरूको आन्दोलित प्रदर्शन चर्किँदै जाँदा सरकारले प्रतिबन्ध फुकुवा गर्नुपरेको विश्लेषण गरिएको छ। आन्दोलनका क्रममा सोमबार मात्र काठमाडौंमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको थियो। सत्तारुढ दलभित्रैबाट दबाब बढेपछि सरकारले अन्ततः अघिल्लो निर्णय फिर्ता लिएको हो।
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गत १९ भदौमा मन्त्रीस्तरीय निर्णयमार्फत लिइएको थियो।




























