
जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। पूर्वप्रतिनिधिसभा सदस्य एवं कांग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत जाहेरी दिएका हुन्।

जाहेरीमा उल्लेख छ कि उक्त घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरै घाइते भएका छन्। मृतकको सूचीमा सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्त रहेका छन्।

जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ। शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाण पेश गर्नुपर्ने पनि उल्लेख छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जाहेरी सम्बन्धित निकायमा पठाइने जानकारी दिएका छन्।

यस कदमले राजनीतिक र सामाजिक क्षेत्रमा ठूलो चर्चा र संवेदनशीलता सिर्जना गरेको छ। घटनाको सत्यतथ्य र दोषी पहिचानका लागि व्यापक अनुसन्धान अपेक्षित गरिएको छ।




























