
आइतबारबाट पितृपक्ष अर्थात् सोह्रश्राद्ध सकिँदैछ भने सोमबारबाट दसैंको सुरूवात हुँदैछ। घटस्थापना दिनबाट मौसम केही उघ्रिएको छ। देशभर मनसुन कमजोर हुँदा कतैकतै घाम लागेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा हल्का वर्षा भइरहेको छ, कोशी र मधेस भने सुख्खा छ।

मौसमविद् विनोद पोखरेलका अनुसार घटस्थापनादेखि फूलपातीसम्म मनसुन त्यति सक्रिय हुने सम्भावना छैन। तर साँझ र राति केही स्थानमा हल्का वर्षा हुन सक्छ। फूलपातीदेखि दसैंको टीकासम्म मौसम फेरि सक्रिय हुने र नेपालभर हिले दसैं पर्ने सम्भावना छ।

पोखरेलले प्रक्षेपण गर्दै भने, मनसुन यसपटक सामान्य भन्दा १५ दिन छिटो भित्रिए पनि बाहिरिन अझै दुई हप्ता लाग्ने देखिन्छ। यसले दसैंका अवसरमा मौसम अनिश्चित भए तापनि देशभर पर्व उत्साहका साथ मनाइने विश्वास गरिएको छ।
































