
कञ्चनपुरका विपिन जोशीलाई हमासको कब्जाबाट मुक्त गर्न पहलस्वरूप उनकी आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन्। विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउने उद्देश्यले उनीहरू अमेरिका गएको पुष्पाले बताइन्।

उनका अनुसार यसअघि जस्तै यसपटक पनि अन्तरराष्ट्रिय समुदायलाई संलग्न गराउन पहल भइरहेको छ। “दाइको रिहाइ अन्तरराष्ट्रिय विषय भएकाले सबैलाई आवाज उठाउन अनुरोध गर्छु,” पुष्पाले भनिन्।
यसअघि इजरायल सरकारले विपिनकी आमा र बहिनीलाई आफ्नो देश लगेरे भेटघाट गराएको थियो। अहिले पनि इजरायलकै सहयोगमा उनीहरू संयुक्त राष्ट्रसंघसम्म पुग्ने तयारीसहित अमेरिका पुगेका हुन्।


गत शनिबार हमासले विपिनसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको थियो। जोशी परिवारले इजरायलमाथिको दबाब बढाउन उक्त तस्बिर सार्वजनिक गरिएको आशंका व्यक्त गरेको छ।
विपिनका पिता महानन्द जोशीले कतारलगायत देशसँग सरकारमार्फत पहल भए छोराको रिहाइ सम्भव हुने विश्वास व्यक्त गरे। उनले दुई वर्षदेखि निरन्तर आशामै बिताइरहेको बताए।
सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहितका नेपाली विद्यार्थीमध्ये १० जनाको हमास आक्रमणमा ज्यान गएको थियो।

















