
नेपालीहरूको महान् चाड दशैंको फूलपातीको दिन पनि देशभर मौसम धमिलो छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी वायू कमजोर भए पनि स्थानीय वायूको प्रभावले वर्षा हुने सम्भावना कायम छ।

महाशाखाले सोमबार बिहान सार्वजनिक गरेको बुलेटिनमा दिउँसो सबै प्रदेशका पहाडी भूभागमा साधारण बदली रहने, बाँकी भूभाग आंशिक बदली हुने जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। तराईका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम रहेको छ। राति गण्डकी र सुदूरपश्चिमसहित अधिकांश पहाडी भूभागमा बदली रहने र केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार राजधानीसहित विभिन्न स्थानमा सोमबार बिहानै वर्षा भएको थियो। दशैंको फूलपाती भित्र्याउने दिनमा पानी नपर्ने आशा गरे पनि वर्षाले धेरैको योजना प्रभावित पारेको छ। ग्रामीण भेगमा पिङ खेल्ने, चङ्गा उडाउने र परिवारसँग रमाइलो गर्ने वातावरण वर्षाले केही फिका बनाइदिएको छ।
































