
यूएईमा जारी युनिटी कप टी–२०आई शृंखलामा नेपालले लगातार दोस्रो खेलमा वेस्ट इन्डिजलाई पराजित गर्दै एक खेल अगावै शृंखला जितेको छ। नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ८३ रनमा अलआउट भयो र ९० रनले पराजित भयो।

नेपालका आदिल आलमले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। कुशल भुर्तेलले ३ विकेट लिए भने ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट हात पारे। वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक २१ रन बनाए, तर टोली खेलमा कहिले पनि हावी हुन सकेन।

नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो। आसिफ शेखले ४७ बलमा अविजित ६८ रन र सन्दीप जोराले ३९ बलमा ६३ रन बनाए। ४३–३ को अवस्थामा दुवैले चौथो विकेटका लागि १०० रनको साझेदारी गरे।

यसअघि पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको थियो। दोस्रो खेलको जीतसँगै नेपालले टेस्ट राष्ट्रविरुद्ध ऐतिहासिक शृंखला समेत आफ्नो बनाएको छ।

















