
आश्विन शुक्ल द्वादशीका दिन पनि दशैँको टीका र आशीर्वाद लिनेको चहलपहल कायम छ। विजयादशमीका दिन नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्ने परम्परा सुरु भएपछि एकादशी र द्वादशीमा समेत मान्यजनकामा पुगेर टीका ग्रहण गर्ने चलन निरन्तर रहन्छ।

नौरथको नौ दिनसम्म देवीपूजा गरी विसर्जन गरेपछि दशमीमा सुरु भएको टीका लगाउने परम्परा कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ। बिहीबारका दिन टीका ग्रहण गर्न नभ्याउनेहरूलाई अझै अवसर रहने भएकाले देशभर यो पर्वको उत्साह देखिएको छ।

तर, पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीकै दिन मात्र देवीको प्रसाद स्वरूप टीका थाप्ने परम्परा छ। उपत्यका र पूर्वी नेपालमा भने पूर्णिमासम्म दशैँ मनाउने परम्परा रहिआएको छ। यसरी, परम्परागत विविधतासहितको दशैँ पर्वले देशभर सांस्कृतिक एकताको झल्को दिने गरेको छ।































