
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले नेकपा एमाले निकट युवा संघलाई शनिबार काठमाडौँका विभिन्न स्थानमा गर्ने भनिएको मोटरसाइकल र्याली र सभा गर्न अनुमति नदिने निर्णय गरेको छ।

प्रशासनले शुक्रबार सूचना जारी गर्दै हालैको जेनजी आन्दोलनपछि भएका तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमा भएको क्षतिका कारण शान्ति सुरक्षामा चुनौती उत्पन्न हुन सक्ने भन्दै र्याली रोक्ने जनाएको हो।

सूचनामा शान्ति सुरक्षा कायम राख्न, सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न र सेवा प्रवाह सुचारु राख्न आवश्यक भएकाले कुनै पनि समूहलाई र्याली, जुलुस, धर्ना वा प्रदर्शनको स्वीकृति नदिइने उल्लेख छ।

पूर्वस्वीकृतिविना कुनै कार्यक्रम नगर्न समेत प्रशासनले सबैलाई आग्रह गरेको छ। युवा संघले शनिबार दिउँसो १ बजे मोटरसाइकल र्याली गर्ने तयारी गरेको थियो।
































