
हुम्ला जिल्लामा ३३५ मेगावाट क्षमताको हुम्ला–कर्णाली दोस्रो जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सिफारिसमा वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) कार्य अघि बढाएको हो। रुरु जलविद्युत् परियोजनाले यो आयोजना निर्माण गर्नेछ।


आयोजना हुम्लाको खार्पुनाथ र सर्केगाड गाउँपालिकामा पर्नेछ। कुल ४७.१३ हेक्टर जमिन प्रयोग हुने आयोजनाको डिजाइन डिस्चार्ज ११८.७० घनमिटर प्रति सेकेन्ड रहनेछ। दुईवटा डाइभर्सन सुरुङको लम्बाइ क्रमशः ५४५ र ५४२ मिटर र व्यास ९.५ मिटर हुनेछ। आयोजना सुक्खायाममा ६०९.८९ गिगावाटघण्टा र वर्षायाममा १,१८४.८३ गिगावाटघण्टा विद्युत् उत्पादन गर्नेछ।
उत्पादित बिजुली २० किलोमिटर लामो ४०० केभी प्रसारण लाइनमार्फत् मुगु–कर्णाली हबमा जोडिनेछ। निर्माण चरणमा १,८०५ र सञ्चालनमा ११५ जनालाई रोजगारी मिल्नेछ। आयोजना लागत ७२ अर्ब ९० करोड रुपैयाँ रहनेछ, जसले हुम्लाको आर्थिक विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। ⚡🏔️
































