नेपाल नयाँ मोडमा: पुराना दलहरूको पतन, नयाँ चेतनाको सुरुवात

Image
Nisarga Hospital

विगत लामो समयदेखि नेपाल विभिन्न राजनीतिक विचारधाराका नाममा ठुला राजनीतिक दलहरूको प्रयोगशाला बनेको छ। कोही प्रजातान्त्रिकको आवरणमा, कोही समाजवादको नारामा, कोही कम्युनिज्मको नाममा जनतालाई मुक्तिको सपना देखाउँदै सत्ताको खेल खेले। तर दशकौँ बित्दा पनि देशले स्थिरता, समृद्धि र सुशासनको अनुभव गर्न सकेन। जनताको विश्वासको दुरुपयोग गर्दै यी दलहरूले राष्ट्रलाई आफ्नो निजी स्वार्थको मञ्च बनाइदिए। आज नेपालका हरेक तह र निकायहरू भ्रष्टाचार, नातावाद, कृपावाद र राजनीतिक भागबण्डाको दलदलमा फसेका छन्। देशका युवाहरू रोजगार र आशाको खोजीमा विदेश पलायन भइरहेका छन्, जबकि देशभित्रका नेताहरू सत्ताको कुर्सीमा टिक्न आफ्नै जनता र राष्ट्रको भविष्य बेचिरहेका छन्।

CP Hospital Dhangadhi

यही पृष्ठभूमिमा जेन्जी आन्दोलनको उदय भयो—एक जनचेतनाको बत्ती, जुन भ्रष्टाचार र अन्यायको अँध्यारोमा आशाको किरण बनेर उदायो। यो आन्दोलन कुनै दलको विरोधका लागि थिएन, तर समग्रमा गलत प्रणाली, असमानता र राजनीतिक दुरुपयोगको अन्त्यका लागि सुरु भएको थियो। तर विडम्बना त के छ भने, यो आन्दोलनमा समेत पुराना दलका कार्यकर्ताहरूले घुसपैठ गरेर आन्दोलनलाई बदनाम र असफल पार्ने षड्यन्त्र गरे। आगजनी, लुटपाट र तोडफोडका नाममा आन्दोलनको सार नै कमजोर पार्ने प्रयास भयो। जनताको आवाजलाई दबाउन विद्यार्थी र बालबालिकामाथि गोली चलाइयो, जुन कुनै पनि सभ्य र जिम्मेवार सरकारको कार्य हुन सक्दैन। यसले नेपालमा सत्ता मात्र बद्लिन्छ, तर प्रवृत्ति बद्लिँदैन भन्ने देखिँदै आएको छ।

नेपालका राजनीतिक दलहरूले राज्यका प्रत्येक निकायमा आफ्ना भातृ संगठनहरू स्थापन गरेर शिक्षा, स्वास्थ्य, न्यायालय, पत्रकारिता र प्रशासन सबै क्षेत्रमा हस्तक्षेप गरे। यसरी राज्यका सबै संरचनाहरू राजनीतिक नियन्त्रणमा परे। योग्य र सक्षम नागरिकहरूलाई पन्छाएर दलका झोले कार्यकर्ताहरूलाई जिम्मेवारी दिइयो। नतिजा स्वरूप, देशको आधारभूत क्षेत्र शिक्षा नै कमजोर भयो। शिक्षामा राजनीति प्रवेश गरेपछि गुणस्तर खस्कियो, अनुसन्धान र नवप्रवर्तन मरे, अनि विद्यार्थीहरू राजनीतिक नारा लगाउने साधन बने। जब शिक्षा कमजोर हुन्छ, तब देशका सबै क्षेत्र ढल्छन्—अर्थतन्त्र, प्रशासन, विकास, र न्याय सबै। त्यसैले अब शिक्षा क्षेत्रलाई राजनीतिक प्रदूषणबाट मुक्त गर्न अत्यावश्यक छ।

nawajiwan

नेपालको राजनीतिक इतिहास हेर्दा एउटै चित्र बारम्बार दोहोरिन्छ—दलहरू फुट्छन्, फेरि एक हुन्छन्, फेरि फुट्छन्, अनि फेरि एकताको गीत गाउँछन्। यसरी फुट र एकताको खेल केवल सत्ता कब्जाको लागि हुन्छ, सिद्धान्त र जनताको हितको लागि होइन। आजका ठूला दल—कांग्रेस, एमाले, माओवादी—सबै आन्तरिक गुटबन्दी र व्यक्तिगत स्वार्थका कारण गिजोलिएका छन्। नेताहरूको अहंकार, सत्ताको मोह, र सम्पत्तिको लोभले दलहरू भित्रै सडेर गएका छन्। यो स्थिति यति भयावह छ कि अब जनतामा राजनीति शब्द नै घृणा र अविश्वासको पर्याय बनेको छ। दलहरू जनताको होइन, नेताहरूको व्यापारिक कम्पनी हुन् भन्ने यिनीहरूको व्यवहारले देखिन्छ।

यी सबै कारणले देशमा असमानता, बेरोजगारी, अन्याय र निराशाको बादल बाक्लिँदै गएको छ। हरेक वर्ष हजारौँ युवा विदेश जान्छन्, किनभने देशमा राम्रो अवसर छैन, आशा छैन, न त पारदर्शी प्रणाली। उनीहरूलाई आफ्नो देशमा काम गर्न मन छ, तर प्रणाली नै उनीहरूका लागि बन्द ढोका बनेको छ। यो केवल आर्थिक मात्र होइन, राष्ट्रिय अस्तित्वको संकट हो।

यस्तो गम्भीर अवस्थामा देशले नयाँ बाटो रोजोस्, नयाँ सोच, नयाँ पुस्ता र नयाँ दृष्टिकोणको मार्ग लिओस्। आजका युवाहरू, जसले स्वच्छ राजनीति र सुशासनको सपना देखेका छन्, उनीहरूलाई नेतृत्वको जिम्मेवारी दिन जरुरी छ। जनता र राष्ट्र हितमा समर्पित हुन्छु भनेर लागेका इमान्दार र निष्ठावान् व्यक्तिहरू जसलाई पुराना दलहरूले राजनीतिक स्वार्थ र प्रतिशोधको कारणले बदनाम गर्न खोजिरहेका छन्—जस्तै रवि लामीछाने, बालेन शाह, हर्क साम्पाङ, सागर ढकाल, कुलमान घिसिङ, गोपी हमालजस्ता व्यक्तित्वहरूले जनतामा आशाको किरण जगाएका छन्। उनीहरू कुनै एक समूह वा गुटका होइनन्, जनताको पक्षका प्रतिनिधि हुन्।

Attariya Hospital

अब पुराना दलहरूले आफूले गरेका गल्तीका लागि आम माफी मागी राजनीतिबाट सन्यास लिनुपर्छ। उनीहरूले देशलाई जुन अवस्थामा पुर्‍याएका छन्, त्यसको जिम्मेवारी लिनु नै उनीहरूको अन्तिम प्राश्चित हुनेछ। त्यसपछि मात्र नयाँ पुस्ता, नयाँ सोच र इमानदार नेतृत्व देशलाई नयाँ दिशामा लैजान सक्षम हुनेछ।

देशमा सुधार ल्याउनका लागि ठूला नाराहरू होइन, ठूला निर्णयहरू चाहिन्छ। सबैभन्दा पहिले, सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ। स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। भ्रष्टाचारका अभियुक्तहरूलाई कुनै दलको संरक्षणबिना कानुनको दायरामा ल्याउनुपर्छ। राजनीतिक नियुक्ति र भागबण्डा अन्त्य गरी योग्यता प्रणाली लागू गर्नुपर्छ। प्रत्येक निकायमा पेशागत संगठनहरू मात्रै रहून्, दलगत संगठनहरू हटाइएर दक्षता र इमानदारीताको संस्कृति स्थापित गरियोस्।

नेपालको समृद्धि केवल आर्थिक समृद्धिमा होइन, नैतिक र संस्थागत सुधारमा पनि निहित छ। जब नागरिकलाई न्याय मिल्छ, अवसर बराबर हुन्छ, र शिक्षा शुद्ध हुन्छ, तब मात्र देश अगाडि बढ्छ। त्यसका लागि जनतामा पनि चेतना आवश्यक छ। जनताले दलका नाममा होइन, व्यक्तिको कार्य र चरित्रका आधारमा समर्थन गर्न सिक्नुपर्छ। अन्धभक्त र झोले बन्न छाडेर सचेत नागरिक बन्नुपर्छ।

नेपाल अझै पनि सम्भावनाको देश हो। यस देशका युवाहरूमा क्षमता छ, जनतामा सहनशीलता छ, र माटोमा आशीर्वाद छ। तर यो सम्भावना तब मात्र वास्तविकतामा रूपान्तरण हुन्छ, जब पुराना रोगग्रस्त प्रवृत्तिहरू अन्त्य हुन्छन् र नयाँ युगको सुरुवात हुन्छ—जहाँ राज्यको शक्ति जनताको सेवामा समर्पित हुन्छ, जहाँ शिक्षक शिक्षामा, चिकित्सक स्वास्थ्यमा, पत्रकार सत्यमा र नेता नैतिकतामा समर्पित हुन्छ।

अब देशको नयाँ कथा लेख्ने समय आएको छ—एक यस्तो कथा जसमा राजनीति सेवा हो, शिक्षा शुद्ध हो, न्याय निष्पक्ष हो, र नागरिक स्वतन्त्र छन्। पुराना भ्रम र प्रवृत्तिहरूलाई समाप्त गरेर नयाँ नेपाल बनाउने जिम्मा अब इमान्दार, देशभक्त र स्वच्छ सोच भएका नागरिकहरूमा छ। देशले हाम्रा नेताहरू होइन, हाम्रा कर्म र चेतनाको प्रतीक्षा गरिरहेको छ। समय अब हाम्रो हातमा छ—सचेत बनौं, एकताबद्ध बनौं, र नयाँ युगको सुरुवात गरौं।

✍️ लेखक डम्मर सिंह साउद सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन्।