
दाङः राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गरेको नियमित एकल रचना वाचनको ८३ औँ शृङ्खलामा साहित्यकार स्मृति योगीले कविता, गजल र मुक्तकमार्फत आफ्ना रचना प्रस्तुत गरिन्। कार्यक्रममा योगीले प्रेम, व्यक्तिगत भोगाइ, समाजको यथार्थता र समसामयिक राजनीतिक परिवेशमाथि आधारित रचनासँगै व्यङ्ग्यात्मक दृष्टिकोण प्रस्तुत गरिन्। उनका सरल शब्द चयन र गहिरा भावले उपस्थित श्रोताको ध्यान आकृष्ट गर्यो।

कार्यक्रमका प्रमुख अतिथि भाषा आयोगका पूर्व सदस्य डा. अमर गिरीले साहित्यकार समाज, देश र आफ्नै माटोप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै योगीका रचनामा संवेदनशीलता र सामाजिक उत्तरदायित्व स्पष्ट देखिएको बताए। राप्ती साहित्य परिषद् केन्द्रका पूर्व अध्यक्ष पुरुषोत्तम खनालले पनि रचनामा सर्जकका निजी भोगाइ र समाजको यथार्थता सशक्त रूपमा समेटिएकोमा खुसी व्यक्त गरे।


कार्यक्रम राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको थियो। उपाध्यक्ष सुरेश पाण्डेले स्वागत गरे भने सचिव घनश्याम केसीले सहजीकरण गरे। विभिन्न साहित्यप्रेमी, सर्जक र पाठकको उपस्थितिले कार्यक्रम सफल र साहित्यिक वातावरण सक्रिय बन्यो। स्मृति योगीको वाचनले राप्ती क्षेत्रको साहित्यिक गतिविधिमा थप ऊर्जा थपेको धारणा व्यक्त गरिएको छ।


































