
कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार बेलुका जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। सेरी पान्तडी सडकमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना भएको थियो।

मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक शुभकालिका–२ का नवराज शाही रहेका छन्। मृतक तीनै जना सडक निर्माणको लागि खन्ने काममा संलग्न थिए।

दुर्घटनास्थल सडकबाट करिब ५०० मिटर तल तिला नदीको किनारामा रहेको थियो। शवहरू घटनास्थलबाट निकालेर परीक्षणका लागि सदरमुकाम मान्म लैजान तयारी भइरहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी गोर्कणराज सुयल, प्रहरी प्रमुख हिमबहादुर खत्रीसहितको टोली घटनास्थल पुगेको थियो। चालक प्रहरीसँग सम्पर्कमा रहेको भए पनि सोधपुछ बाँकी रहेको छ।































