
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपाल प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न अयोग्य रहेको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। रौतहट–१ बाट उम्मेदवारी दिएका नेपालविरुद्ध सोही क्षेत्रका उम्मेदवार राम नरेश राय यादवले उम्मेदवारी खारेजको माग गरेका हुन्।

उजुरीमा पतञ्जलि जग्गा प्रकरणमा मुछिएको उल्लेख गर्दै नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार मुद्दा विचाराधीन अवस्थामा रहेको जनाइएको छ।

निज हाल निलम्बनको अवस्थामा रहेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को प्रावधानअनुसार उम्मेदवार हुन अयोग्य ठहर गर्नुपर्ने माग गरिएको छ। उजुरीमा नेपालको उम्मेदवारी खारेज गरी कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्वाचन आयोगसँग अनुरोध गरिएको छ।
































