
ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ बजेर ४७ मिनेटमा चार म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दु नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको जनाइएको छ।


भूकम्पको धक्का ताप्लेजुङसहित पूर्वी नेपालका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो। यद्यपि भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासन र सुरक्षा निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै अवस्था निगरानी गरिरहेको जनाएका छन्। भूकम्पपछि केही समय स्थानीय बासिन्दामा त्रास देखिएको थियो। केन्द्रले पछिल्ला गतिविधिहरूको निरन्तर अनुगमन भइरहेको पनि जानकारी दिएको छ।

































