
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसको असरले कोशी र गण्डकी प्रदेशसहित अधिकांश हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा तुवाँलो लागेको छ।

आज दिउँसो तराईका केही क्षेत्रमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने जनाइएको छ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि तराईका थोरै स्थानमा तुवाँलो कायम रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहँदा देशका अन्य भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।






























