
फागुन १९ गते मङ्गलबार साँझ नेपालका विभिन्न भागबाट दुर्लभ खण्डग्रास चन्द्रग्रहण देखिने छ। वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् प्रा. डा. जयन्त आचार्यका अनुसार, चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा हुने यो दृश्य अतिनै विशेष मानिन्छ।

ग्रहणको क्रममा चन्द्रमाको आधाभन्दा बढी भाग पृथ्वीको छायाले ढाकिने छ। साँझ ७ः०४ बजेपछि चन्द्रमा बिस्तारै मुख्य छायाबाट बाहिर निस्कने छ।

यस ग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा चस्माको आवश्यकता छैन। सूर्यग्रहण जस्तो यसले आँखालाई असर नगर्ने भएकाले नाङ्गो आँखाले पनि खुला ठाउँबाट सुरक्षित रूपमा हेर्न सकिन्छ।

प्रा. आचार्यका अनुसार, नेपालबाट यस प्रकारको खण्डग्रास सूर्यग्रहण अब विसं २०८४ मा मात्र देखिने भएकाले यो अवसर अत्यन्तै दुर्लभ छ। खगोलविद् र आकाशप्रेमीहरूका लागि साँझको आकाशले अविस्मरणीय दृश्य प्रदान गर्ने निश्चित छ।
































