
फागुन २१ गते हुने निर्वाचनका लागि आज अपराह्नसम्म देशभरका मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन हुने भएको छ। निर्वाचन आयोगले सोमबार अपराह्नसम्म सबै कर्मचारी केन्द्रमा पुगेर तयारी पूरा गर्न निर्देशन दिएको छ।

दुर्गम र विकट भेगका मतदान केन्द्रमा केही दिनदेखि नै सुरक्षाकर्मी सहितको टोली पुगेको छ। सडक सुविधा नपुगेका करिब ३ सय मतदान केन्द्रमा आइतबार अपराह्नसम्म कर्मचारी र सुरक्षाकर्मीको टोली पुगेको आयोगले जनाएको छ। शहरी क्षेत्र र तराईका केन्द्रमा भने सोमबार अपराह्नसम्म परिचालन पूरा हुने अपेक्षा गरिएको छ।

मतदान केन्द्रमा पुग्दा कर्मचारीले चारकिल्ला तोकिएको सूचना निकाल्ने, सर्वपक्षीय बैठक डाक्ने, मतदान स्थल तयारी गर्ने, मतपत्र सुरक्षित राख्ने र मतदान पूरा भएपछि मतपेटिका मुचुल्का गरी अधिकृत कार्यालयमा बुझाउने काम गर्नेछन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मतदान सम्पन्न नहुन्जेलसम्म कर्मचारी र सुरक्षाकर्मीको टोली सँगै रहन्छ। यो तयारीले मतदान प्रक्रियालाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउने विश्वास गरिएको छ।
































