
गोरखाको मनकामना मन्दिर दर्शन गरी फर्किने क्रममा इलेक्ट्रिक भ्यान (EV) दुर्घटना हुँदा ७ जना भारतीय नागरिक घटनास्थलमै मृत्यु भएका छन् भने ८ जना घाइते भएका छन्। दुर्घटनामा सवार १५ मध्ये अधिकांश यात्रु भारतीय नागरिक थिए।

शहिद लखन गाउँपालिका–३ का वडाध्यक्ष दिपक पाण्डेका अनुसार दुर्घटना राति करिब ८ बजे भएको थियो। गाडी करिब १५०–२०० मिटर तल खसेको थियो। उद्धारमा खटिएको टोलीले बाँकी ८ घाइतेलाई जीवितै उद्धार गरेको छ। घाइतेमध्ये ७ जनालाई आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ भने एक गम्भिर घाइतेलाई भरतपुर रिफर गरिएको छ।

वडाध्यक्ष पाण्डेले दुर्घटनाको सम्भावित कारण ब्रेक फेल, ठाडो र अप्ठ्यारो बाटो, पानी पर्ने अवस्था र रुटबारे अनभिज्ञता रहेको बताए। सशस्त्र प्रहरीको टोलीले घटनास्थलबाट केही शव उठाउने कार्य गरिरहेको छ। दुर्घटनाले मनकामना–आँबुखैरेनी सडकको जोखिमपूर्ण अवस्थाबारे चेतावनी दिएको छ।






























