
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखा ले हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। यसका कारण देशभर मौसम आंशिकदेखि पूर्ण बदली रहने अवस्था देखिएको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै बागमती र कोशीका हिमाली क्षेत्रमा सामान्य बदली रही अन्य स्थानमा मौसम मुख्यतया सफा छ। तर पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पूर्ण बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहने अनुमान छ। यी क्षेत्रका धेरै स्थान तथा कोशी र बागमतीका पहाडी भूभाग र मधेशका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारण र यातायात क्षेत्रलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
































