
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यालय र कलेजमा विद्यार्थी संगठनहरूलाई प्रतिबन्ध लगाउने सरकारी प्रस्तावप्रति कडा आपत्ति जनाएको छ। शनिबार पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो कदम लोकतान्त्रिक अधिकारविरुद्ध हुने निष्कर्ष निकालेको नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

सरकारको १०० बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्ने विषय समावेश गरिएकोप्रति राजनीतिक दलहरू र विभिन्न संगठनहरूले पहिले नै विरोध जनाउँदै आएका छन्। नेकपाले पनि यसलाई अस्वीकार्य भन्दै यस्तो निर्णयले विद्यार्थी, युवा तथा श्रमिकहरूको अधिकार कुण्ठित गर्ने बताएको छ।

बैठकपछि नेता खतिवडाले भने, “विद्यार्थी संगठन र ट्रेड युनियनलाई कलेज तथा कार्यस्थलमा प्रतिबन्ध लगाउनु गलत हो। यसले जनताको मौलिक अधिकारमाथि प्रहार गर्छ। यस्तो कदमको हामी दृढतापूर्वक विरोध गर्छौं।” पार्टीले आगामी बैठक ३ वैशाखमा बस्ने र बाँकी निर्णयहरू त्यसपछि सार्वजनिक गरिने जनाएको छ।

































