
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने मधेस र कोशीको तराई क्षेत्रमा आंशिक बादल देखिएको छ।

आज दिउँसो कोशीसहित पहाडी र हिमाली भूभागमा बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही हिमाली तथा पहाडी क्षेत्रमा साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही भूभागमा तातो दिन हुने अनुमान गरिएको छ।

आज राति हिमाली क्षेत्रमा साधरणतया बादल, पहाडी क्षेत्रमा आंशिक बादल र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णालीका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।





























